दफा ३४
म्याद वा न्यायिक लिखत तामेल गर्ने
(१) विदेशी राज्यले दफा २१ बमोजिम म्याद वा न्यायिक लिखत तामेल गर्न अनुरोध गरेको भए सम्बन्धित अदालतले सो अदालतमा नै न्यायिक कारबाही विचाराधीन रहेको सरह मानी कानून बमोजिम त्यस्तो म्याद वा न्यायिक लिखत तामेल गर्नु पर्नेछ ।
(२) उपदफा (१) बमोजिम म्याद वा न्यायिक लिखत तामेल गर्दा विदेशी राज्य संग भएको सन्धि बमोजिम वा विदेशी राज्यको अदालतको अनुरोध बमोजिम कुनै खास कार्यविधि वा तरिका अवलम्बन गरी त्यस्तो म्याद वा न्यायिक लिखत तामेल गर्नु पर्ने रहेछ र केन्द्रीय अधिकारीबाट पनि सोही बमोजिम अनुरोध भई आएको रहेछ भने सम्बन्धित अदालतले त्यस्तो कार्यविधि वा तरिका अवलम्बन गरी त्यस्तो म्याद वा न्यायिक लिखत तामेल गर्नु पर्नेछ ।
(३) यस दफा बमोजिम कुनै म्याद वा न्यायिक लिखत तामेल गरे पछि सम्बन्धित अदालतले त्यस्तो लिखतको तामेली विवरण तयार गर्नु पर्नेछ ।
(४) उपदफा (३) बमोजिमको तामेली विवरण विदेशी राज्यको अदालतको अनुरोध बमोजिम अंग्रेजी भाषामा अनुवाद गर्नु पर्ने भएमा केन्द्रीय अधिकारीले त्यसको अनुवाद गरी सम्बन्धित अदालतबाट प्राप्त सक्कल प्रति र अनुवाद गरिएको प्रति प्रमाणित गर्नु पर्नेछ ।